आइन्दा अभद्र व्यवहार नगर्ने सर्तमा ज्ञानेन्द्र शाही थुनामुक्त

जागरण न्युज
काठमाडौं ३० भदौ । आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ ।

नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि शाहीलाई आइतबार ललितपुर परिसरले पुल्चोकबाट नियन्त्रणमा लिएको थियोे ।

ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर हिरासतबाट मुक्त गरिएको बताइन ।
तर, शाहीलाई प्रहरीमाथि नै अभद्र व्यवहार गरेको कसूर आकर्षित गरेर मुद्दा चलाउने तयारी गरिएको थियो ।
शनिबार नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईले जहाज कुराएको भन्दै शाहीसहितका व्यक्तिले उनलाई विमानस्थलमा घेरेका थिए । सोही विषयमा आइतबार शाहीले पुल्चोकमा पत्रकार सम्मेलन राख्दा घम्साघम्सी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्