दाहालले जिते ५ लाख, देशको नाम र शान चम्किने खेलले नै होः सभाध्यक्ष तिमिल्सिना

काठमाडौँ । हेल्पिङ क्याप नामक सामाजिक संस्था (क्लव)द्वारा आयोजित खुल्ला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहाल प्रथम भएका छन् । ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार साँझ आयोजित प्रतियोगितामा मरिचमान लामा दोस्रो र ललित धिमाल तेस्रो भएका हुन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु पाँच लाख, दुई लाख ५० हजार र दुई लाख नगद सहित ताम्रपत्रले सम्मान गरिएको छ । दश खेलाडी अन्तिम प्रतिस्प्रधाका लागि छनौट भएकामा ती मध्येबाट आज अन्तिम चरणको प्रतिस्प्रधा गरिएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्दै खेल अनुशासित विधा भएको यसका माध्यमबाट देशमा अनुशासित नागरिक उत्पादन गर्नुपर्ने बताउनुभयो । खेलाडीले गर्ने दुःख र मेहनतले प्राप्त हुने सफलताबाट देशको नाम र शान चम्किने बताउँदै उहाँले खेल क्षेत्रको विकासका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । पछिल्लो समय यस क्षेत्रमा भएका प्रगतिले सरकार प्रमुखको भन्दा बढि तलब खेलाडीको हुने गरेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले अब अभिभावकले सन्ततीलाई राम्रो खेलाडी बन्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा सहभागी दशै खेलाडीलाई पुरस्कार र उपहार प्रदान गरिएको थियो । सन्तुलित भोजनको उपयोग गरी खेलाडीले भारयुक्त व्यायाम गरेर आर्जन गरेको मोहक शरीरलाई कलात्मक ढङ्गबाट प्रदर्शन गरीएको थियो ।

शारीरिक सुगठनका अन्तर्राष्ट्रिय प्रशिक्षक शिवलाल श्रेष्ठको नेतृत्वमा १० सदस्यीय निर्णायक समितिले खेलाडीको शरीको संरचना, सौन्दर्य, हिडडुलका चाललगायतका आधारमा उत्कृष्ट खेलाडी छनौट गरेको हो ।

प्रतियोगितामा प्रथम भएका खेलाडी दाहालले आगामी मंसिरमा संयुक्त अरब ईमिर्ट्समा हुने अन्तर्राष्ट्रिय तहको प्रतियोगितामा प्रतिस्प्रधा गर्ने र त्यसको खर्च आयोजक संस्थाले गर्ने कार्यक्रमका संयोजक राजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्ति, जर्ज, सञ्चारकर्मी तथा सहयोगीहरुलाई प्रमुख अतिथिको हातबाट मायाँको चिनो प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्