राखेपको सदस्य सचिवमा राजनीतिक नियुक्ति नगर्न सांसदको सुझाव

काठमाडौं, भदौ ११ । सांसदहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा राजनीतिक नियुक्ति नगर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदहरुले राखेप सदस्य सचिवमा राजनीतिक नियुक्ति गर्न नहुनेमा जोड दिएका हुन् ।

नेकपा सांसद सूर्यप्रसाद पाठकले सदस्य सचिव नियुक्तिका लागि कुनै पार्टीको सदस्य नभएको भन्ने व्यवस्था राख्न प्रस्ताव गरे । उनले आफ्नो संशोधन प्रस्तावबारे भने ‘राजनीतिक दल भन्दा बाहिरबाट सदस्य सचिव ल्याउन सकिन्छ ।’

राजनीतिक नियुक्ति हुँदा विगतमा सदस्य सचिव र मन्त्रीबीच सुमधुर सम्बन्ध हुन नसकेको भन्दै सांसदहरुले यसलाई संशोधन गरी खुला प्रतिस्पर्धा वा राजनीतिक दलभन्दा बाहिरबाट लिनुपर्ने बताएका हुन् ।

राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयकमा हाल खुला प्रतिस्पर्धाबाटै परिषदको सदस्य सचिव नियुक्ति गर्ने व्यवस्था छ । सांसदहरुले सदस्य सचिव नियुक्त गर्दा खुला प्रतिस्पर्धाबाटै र राजनीतिक व्यक्ति भन्दा बाहिरबाट नियुक्ति गर्नुपर्ने बताएका हुन् ।

सांसद भुपेन्द्रबहादुर थापाले खेलकुदको विकास गर्न र निष्पक्ष बनाउन राजनीतिक प्रभाव भन्दा बाहिरबाट परिषदका सदस्यहरु समेत ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्