नेपाल ओलम्पिक कमिटीको अध्यक्षका लागि फेरि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्रतिस्पर्धा, दिए उम्मेदवारी

काठमाण्डौं, भदौ १० । नेपाल ओलम्पिक कमिटीको नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

अघिल्लो चुनावमा पनि यी दुईले नै प्रतिस्पर्धा गरेका थिए । भदौ २० गते हुने कार्यसमितिको चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो । १९ पदमध्ये १७ पदमा चुनाव हुनेछ ।

अध्यक्षमा २, उपाध्यक्षमा ८, महासचिवमा २, सचिवमा ४, सदस्यमा ८ कोषाध्यक्षमा १ र सह(महासचिवमा १ जनाले उम्मेदवारी दिएका हुन् । २७ मतदाता रहेको ओलम्पिक कमिटीमा २६ जना उम्मेदवारको रुपमा रहेका छन् । यस पटक कुनै पनि पदमा उम्मेदवारी नदिनेमा ओलम्पिक कमिटीका पूर्व अध्यक्ष तथा जिम्न्याष्टिक संघका ध्रुवबहादुर प्रधान मात्रै रहेका छन् ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना नेपाल ओलम्पिक कमिटीको उप(महासचिव पदमा निर्विरोध चयन भएका छन् । उनी नेपाल एथ्लेटिक्स संघबाट प्रतिनिधिको रुपमा ओलम्पिक प्रवेश गरेका हुन् ।

उप(महासचिव तिम्सिनासहित कोषाध्यक्षमा रतनकुमार टण्डन पनि निर्विरोध भए । दाबी विरोधको समय सकिएपछि बिहीबार उम्मेदवारको नाम सार्वजनिक हुने छ ।

पाँच उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । ज्योति राणा, तेजबहादुर गुरुङ, राजिव श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, अशोक बज्राचार्य, पुष्पदास श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव केशवकुमार विष्टसहित ४ जनाले सचिव पदका लागि उम्मेदवारी दिएका छन् । तुलसी थापा, रामजीबहादुर श्रेष्ठ र दीपक हर्ष बज्राचार्य यस पदका लागि प्रतिस्पर्धामा छन् । सचिव पदमा तीन जना निर्वा्चित हुने छन् ।

कार्यसमितिको सदस्य पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । यसबाट ७ जना निर्वा्चित हुने छन् । सदस्य पदमा रमेश सिवाकोटी, राम अवाले, दीर्घ केसी, मनोरञ्जनरमण शर्मा, प्रकाश राणा र गोपालसुन्दर लाल कक्षपति, टासी घले र होमबहादुर दोङले उम्मेदवारी दिएका हुन् ।

ओलम्पिक कमिटीको १९ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्