हङकङमा व्यापक विरोध प्रदर्शन, दशौं हजारले निकाले र्‍याली

काठमाडौं, भदौ १ । हङकङमा दुई महिनाभन्दा अघिदेखि निरन्तर आन्दोलन र प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शन रोकिने कुनै संकेतहरु देखिएका छैनन् ।

हङकङमा आइतबार पनि व्यापक विरोध प्रदर्शन भएको छ । विगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरुले आइतबार स्थानीय भिक्टोरिया पार्कमा भेला भई शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

भारी बर्षाको पर्वाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो ।

नागरिक समाज र मानव अधिकारवादी संस्था सीएचआरएफले आजको प्रदर्शन आयोजना गरेको हो ।

गत हप्ता हङकङ विमानस्थलमा हिंसात्मक प्रदर्शन भएपछि आज शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

उता, सुरक्षाकर्मीहरुले पनि प्रदर्शनकारीलाई भिक्टोरिया पार्कमा मात्र भेला हुने अनुमति दिएका छन् ।

गत सोमबार र मंगलबार प्रदर्शकारीले विमानस्थल नै कब्जा गरेपछि एसियाका व्यस्त विमानस्थल मध्येको हङकङ विमानस्थलमाबाट सयौं उडान प्रभावित भएका थिए ।

सुपुर्दगी विधेयक खारेजीको मागसहित उनीहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्