सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

काठमाडौं, भदौं १ । बंगलादेशको एक सुकुम्बासी बस्तीमा भिषण आगलागी भएको छ । आगलागी हुँदा १० हजार घरबारविहीन भएका छन् ।


राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका हुन् ।

ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब दुई हजार घर खरानी भएको अग्नि नियन्त्रण विभागका एर्शाद हुसेनले जनाएको छ ।


बस्तीभित्र चिया पसल चलाएर गुजारा गरिआएका ५८ वर्षीय अब्दुल हमिदले आफूले एउटा सामान पनि बाहिर निकाल्न नपाएको गुनासो गरे ।

अग्निनियन्त्रकहरुले लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याएका थिए र घटनामा कोही कसैको मृत्यु भएको थिएन । तर थुप्रै मानिस घाइते भएका छन् ।

यस बस्तीमा सामान्यतया न्यून आय भएका तयारी पोशाक उद्योगमा काम गर्ने मजदूरहरु बसेका थिए । मुस्लिम समुदायको महत्वपूर्ण चाड ईद अल–अधामा सहभागी हुन आफ्ना गाउँघर गएका कारण आगलागीका दिन बस्तीमा ज्यादै कम मानिस थिए ।

स्थानीय प्रहरी प्रमुख गुलाम रब्बानीले बस्ती खाली नभएको भए ठूलै मानवीय क्षति हुने सम्भावना रहेको बताए।


यसै वर्षमात्र भवनहरुमा भएको आगलागीबाट कम्तीमा १०० जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्