उत्तर कोरियाले फेरि गर्यो क्षेप्यास्त्र परीक्षण, सैन्य अभ्यासविरुद्ध चेतावनी दिन हतियार प्रक्षेपण :नेता किम जोङ
काठमाडौं , साउन ३१ । उत्तर कोरियाले शुक्रवार दुईवटा प्रोजेक्टाइल परीक्षण गरेको छ । हालैका दिनमा प्योङयाङले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ ।
दक्षिण कोरियाली सेनाले ती प्रोजेक्टाइलहरू तोङचोन शहरबाट प्रक्षेपण गरिएको र सी अफ जापानमा विसर्जन गरिएको बताएको छ ।
एक महिनामा गरिएको यो छैठौं परीक्षण हो । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासविरुद्ध चेतावनी दिन हतियार प्रक्षेपण गरेको उत्तर कोरियाका नेता किम जोङ–उनले बताएका छन् ।
युद्धाभ्यासले उत्तर कोरियालाई जहिले पनि चिढ्याउने गरेको छ । आफूमाति आक्रमण गर्नका लागि यो अभ्यास गरिएको उसको भनाइ छ ।
आणविक कूटनीतिमा ढिलाइ भइरहेकोले वाशिङटन र सउललाई दबाब दिन उत्तर कोरियाले समुद्रमा पुग्ने गरी क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
यो प्रोजेक्टाइल कस्तो किसिमको हो भन्ने खुलाइएको छैन तर उत्तर कोरियाका हतियारहरूको स्तर बढ्दै गएको विश्लेषकहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्