लुम्बिनी विकास बैंकको ११ औं वार्षिक साधारण सभा सम्पन्न, १७.०७ प्रतिशत वोनस शेयर पारित

काठमाडौं, २८ साउन । लुम्विनी विकास बैंकको ११ औं वार्षिक साधारण सभा विभिन्न कार्यक्रमकासाथ सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा बैंकका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा बैंकको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, आ.व २०७५ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

यस साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस शेयर वितरण गर्ने निर्णय समेत पारित गर्यो । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ ।

बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५÷०७६ को आषाढ मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्कबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था समेत मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्