आर्थिक–सामाजिक रुपान्तरणका लागि गतिशील र सिद्धान्त निष्ठ लघुवित्त आवश्यक

काठमाडौं, २७ साउन । आर्थिक–सामाजिक रुपान्तरणका लागि गतिशील र सिद्धान्त निष्ठ लघुवित्त आवश्यक पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

स्वावलम्बन विकास केन्द्रको आयोजनामा सोमबार काठमाडौंमा सम्पन्न भएको लघुवित्त क्षेत्रमा विद्यमान चुनौती र अबको कार्यदिशा निर्धारण विषयक एक दिने सम्मेलनमा बोल्ने वक्तारुले यस्तो कुरा बताएका हुन् । सम्मेलनमा नेपालमा लघुवित्त क्षेत्रको बुझाई, गराई, भोगाई र सोचाई विषयमा सामूहिक छलफल गर्न आवश्यक पर्ने कुरालाई समेत प्रमुख एजेण्डाका रुपमा लिएको छ ।

गोष्ठीमा लघुवित्त क्षेत्रका अग्रणी तथा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त कार्यक्रमलाई गतिशील राख्न यसको मूलमर्म सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा जोड दिनुभयो । लघुवित्त क्षेत्रमा हाल देखापरेका विकृति र विचलनका कारण यस क्षेत्रको प्रतिष्ठामा नै आँच आउने संकेत देखिएको उहाँले बताउनुभयो ।

लघुवित्तमाउद्यमशिलता विकास महत्वपूर्ण हुने भएकोले लघुवित्त संस्थाहरु ग्राहक सदस्यहरुलाई स्थानीय श्रोत र साधनको भरपूर उपयोग गरी कसरी उद्यमशीलता विकास गर्ने भन्ने विषयमा केन्द्रीत हुनुपर्ने सहभागीहरुको भनाई थियो ।

सम्मेलनले स्वच्छ लघुवित्त कार्यान्वयनका लागि सहि कार्यदिशा तय गर्ने विश्वास गरिएको छ ।

लघुवित्तलाई सामाजिक व्यवसायको रुपमा नभई नाफामूलक दृष्टिकोणले हेर्ने प्रवृत्तिमा बढोत्तरी हँुदै आएको कारण विभिन्न किसिमका विचलन देखापरेको र त्यस प्रकारका विचलनले विपन्न तथा न्यून आय भएको वर्गको आर्थिक सामाजिक विकासमा बाधापुग्ने कुरा देखिएको छलफलमा उठेको थियो ।

सम्मेलनमा देशका सातैवटा प्रदेशबाट प्रतिनिधित्व हुनेगरी प्यानल छलफल गरिएको थियो । प्यान लछलफलमा सहभागीहरुले लघुवित्तलाई ग्राहक मूखि र उत्तरदायि बनाउन लघुवित्त संस्थाहरुले स्वयं अनुशासनलाई अनुसरण गर्नु पर्ने साथै नियामक निकायले लघुवित्त वित्तीय संस्थालाई आवश्यकता भन्दाबढी अनुमतिदिने क्रमले गर्दा यसमा धेरै विकृतिहरु देखापरेको सहभागीहरुले बताएका छन् ।

गोष्ठीमा नेपालका लघुवित्त क्षेत्रका विज्ञ लगायत केन्द्रमा आवद्ध ३९ वटा लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाका अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्