चीनमा आँधीबाट मृत्यु हुनेको संख्या २८ पुग्यो, ३२ सय उडान रद्द, ५० लाख मानिस प्रभावित

काठमाडौं, साउन २६ । चीनमा टाइफून लेकिमाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । २० जना अझै हराइरहेका छन् ।

चीनमा शनिबार आएको आँधीबाट झेन्झियाङ प्रान्तका करिब ५० लाख मानिस प्रभावित भएका छन् । करिब १० लाखलाई सुरक्षित स्थानमा लगिएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार मृत्यु हुने अधिकांश वेन्झाउका रहेका छन् । आँधीका कारण ३ हजार २०० उडान रद्द गरिएका छन् । यसरी रद्द गरिएकामा संघाई, बेइजिङ र अन्य सहरका पनि छन् ।


लेकिमाका कारण शनिबार बिहानैदेखि चीनको आर्थिक राजधानी संघाई र ताइवानको बीचमा पर्ने वेनलिङमा भारी वर्षा भएको थियो । सो आँधीलाई शुरुमा ‘सुपर टाइफुन’ नामाकरण गरिएकोमा पछि यसलाई केही कमजोर हुने ठानिएको थियो ।

मानिसको ज्यान लिनेगरी पहिरो वेन्झाउमा गएको हो । झेन्जियाङबाट उत्तरतर्फ लागेको लेकिमाले २ करोड जनसंख्या भएको संघाईलाई प्रहार गर्ने अनुमान गरिएको थियो ।

आपतकालीन उद्धारकहरुले बाढीका कारण सडकमा अलपत्र यात्रु था क्षतिग्रस्त घरमा अलपत्र परेका मानिसको उद्धार गरेका थिए । ढलेका रुख र विद्युत् अवरोध जताततै पाइएको छ ।

संघाइ डिस्नील्याण्ड समेत बन्द गरिएको छ । क्षतिग्रस्त क्षेत्र मुख्य रुपमा शहरोन्मुख भूभाग भएको निङ्बो सिटी फायर सर्भिसका उद्धार दल प्रमुख फु सङलियाङले बताएका छन् ।

सिन्ह्वा समाचार समितिका अनुसार यो वर्ष आएको यो ९औं टाइफुन हो ।

प्रतिक्रिया दिनुहोस्