कश्मीर मुद्दाले दार्जिलिङमा हलचलः कश्मीरीमाथि दमन भए चुप नलाग्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

काठमाडौं, साउन २२ । भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरी केन्द्र शासित दुई अलग राज्यमा टुक्रायाउने निर्णय गरेसँगै दार्जिलिङमा हलचल सुरु भएको छ ।

भारत सरकारको निर्णयसँगै प्रस्तावित ‘गार्खाल्यान्ड’ प्रति सरकारको ध्यानाकर्षण गर्न विभिन्न राजनैतिक दलका नेताहरु सक्रिय बनेका छन् ।

सोमबार बोडोल्यान्ड पिपुल्स फ्रन्टका सांसद विश्वजित दैमारीलगायतले राज्यसभामा गोर्खाल्यान्ड लगायत बोडोल्यान्ड राज्य गठन हुनुपर्ने माग गरेका छन् ।

भूमिगत नेता विमल गुरुङले प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रलाई पनि केन्द्र अधीनस्थ राख्नुपर्ने माग गरेका छन् ।

यसबैबिच भारतले जम्मु कश्मीरलाई दिएको विशेष राज्यको दर्जा खोस्ने निर्णय गरेपछि यसले क्षेत्रीय अस्थिरता निम्त्याउने सम्भावना बढेको छ ।

७० वर्षदेखि कश्मीर विवाद संयुक्त राष्ट्रसंघलगायतका अन्तर्रा्ष्ट्रिय निकायमा पुगेको अवस्थामा भारतले कश्मीरलाई केन्द्र सरकारमातहत ल्याउने निर्णय गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै कश्मीरीमाथि दमन भए चुप नलाग्ने चेतावनी दिएका छन् ।

उनले परमाणु हतियार सम्पन्न मुलुकले सकेसम्म खतरा निम्त्याउन नहुने भन्दै भारतीय पक्षबाट चालिने जुनसुकै कदमका लागि जवाफ दिन पाकिस्तान सक्षम रहेको बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्