ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी

काठमाडौं , साउन १६ । अल–कायदाका संस्थापक ओसामा विन लादेनका पुत्र हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीले दाबी गरेका छन् ।

ओसामाका पुत्र हम्जा बिन लादेनको मृत्यु भएको स्थान र मितिबारे केही नखुलेको अज्ञात स्रोतलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

गएको फेब्रुअरीमा अमेरिकाले हम्जाको अखडाबारे जानकारी दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर प्रदान गर्ने बताएको थियो ।

३० वर्षका हम्जाले अमेरिकासहितका अरु देशमाथि आक्रमण गर्न अपिल गर्दै अडियो तथा भिडियो सन्देश जारी गर्ने गरेका थिए ।

हम्जाको मृत्यु सम्बन्धी खबर सुरुमा अमेरिकी टेलिभिजन नेटवर्क एनबिसी र द न्युर्योक टाइम्सले प्रकाशित गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे प्रतिक्रिया दिन चाहेनन् । यस्तै राष्ट्रपति कार्यालय ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले पनि टिप्पणी गर्न चाहेनन् ।

अमेरिकाले आफ्ना पिता ओसामाको हत्या अमेरिकाले सन् २०११ को मे मा पाकिस्तानमा गरेपछि हम्जाले त्यसको बदला दिन अपिल गरेका थिए ।

हम्जाले अरब प्रायद्विपका नागरिकसँग पनि बदलाका लागि अपिल गरेका थिए । गएको मार्चमा साउदी अरेबियाले हम्जाको नागरिकता खोसेको थियो ।

प्रतिक्रिया दिनुहोस्