विश्वकप टी–२० : छनोटको अन्तिम खेलमा आज नेपाल सिंगापुरसँग भिड्दै , कस्तो रहला प्रदर्शन
काठमाडौं , साउन ११ । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटको अन्तिम खेलमा आज नेपाल र सिंगापुर भिड्दैछन् ।
समूहमा एक खेल मात्रै बाँकी छँदा ५ अंकसहित सिंगापुर शीर्ष स्थानमा छ भने ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।
आजको खेल जित्ने टोली एसियाबाट ग्लोबल छनोटमा पुग्नेछ । यो खेल हुन नसकेर अंक बाँडिएको अवस्थामा सिंगापुरले माथिल्लो चरणमा ठाउँ बनाउनेछ ।
यही अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा १४ देशले सहभागिता जनाउनेछन् ।
उक्त प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छानिनेछन् ।
एसियाली छनोटअन्तर्गत हिजो भएको खेलमा कुवेतलाई ७ विकेटले हराउँदै नेपालले आजको खेलपूर्व आयोजक सिंगापुरमाथि दबाब बढाएको हो ।
खेलमा कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा ३ बिकेट गुमाएर पुरा र्गयो ।
नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए । पारसले ३२ बलमा ११ चौका र १ छक्काको मद्दतले ६८ रन बनाए ।
यसैगरी शरद भेषावकरले ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रनको योगदान दिए ।
प्रतिक्रिया दिनुहोस्