विश्वकप एसिया छनोटमा नेपालको सहज जित ,कप्तान पारसको शानदार प्रदर्शन, ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो

काठमाडौँ , साउन ११ । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेत विरुद्ध सहज जित निकालेको छ ।

जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्ने छ ।

शनिबार बिहान भएको खेलमा नेपालसँग कुवेत ७ विकेटले पराजित भएको हो । कुवेतले जितका लागि दिएको १४२ रनको लक्ष्य नेपालले १६ ओभर खेल्दै मात्र ३ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा कप्तान पारस खड्काको शानदार प्रदर्शन रह्रयो । पारसले ४२ बलमा ६८ रनको अर्धशतकीय पारी खेले । पारसले ११ चौका १ छक्का प्रहार गरे ।योसँगै कप्तान पारस टी–ट्वान्टी अन्तराष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

खेलमा शरद भेसवाकरले अविजित ३८ रन बनाए । ज्ञानेन्द्र मल्लले १९ रन बनाए । टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

अब नेपालले आइतबारको खेलमा सिंगापुरलाई हराएमा विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्