गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णका लागि दुई दिनमै जुट्यो ८० लाख

काठमाडौं, साउन ९ । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निमार्णका लागि आर्थिक सहयोग जुट्ने क्रम धमाधम भइरहेको छ ।

रंगशाला निर्माणका लागि चितवनका बासिन्दाले पनि फाउण्डेशनलाई दरिलो साथ दिएका छन् ।

प्रत्येक स्थानीय तहले सहयोग समिति समेत गठन गरेर काम अघि बढाएका छन् । चितवनको रत्ननगर, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन पनि भएको छ ।

कालिका र राप्ती नगरपालिकामा बिहीबार सहयोग समिति गठन हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

चितवन जिल्लावासीको उत्साहपूर्ण साथ र सहयोगले हौसला मिलेको बताउँदै फाउण्डेशनका अध्यक्ष कट्टेलले सबै स्थानीय तहमा सहयोग समिति गठन र सहयोग रकम संकलनले रंगशाला बनाउने कामलाई उत्साह थपेको बताए ।

यसैबिच दुई महिनासम्म निर्माणको काम रोकिएको निर्माणाधीन रंगशाला फेरि सुरु गरिएको दुई दिनमै मात्र ८१ लाख ६१ हजार एक सय १० रुपैयाँ सहयोग संकलन भएको छ ।

क्रिकेट रंगशालालाई उद्योग वाणिज्य संघ चितवनले लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष सहनलाल प्रधानले रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, पूर्वेली समाजकै सदस्य कुमार डाँगीले ५ लाख, भरतपुर महानगरपालिका-१२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले १ लाख ३५ हजार, घिमिरे ब्रर्दश एण्ड सप्लार्यसका शिव घिमिरेले १ लाख ५ हजार सहयोग गरेका छन् ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.तिलचन्द्र भट्टराई र उहाँकी धर्मपत्नी प्रा.डा. शारदा थपलियाले निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेका छन् ।यसैगरी जिल्ला क्रिकेट संघ चितवनको तर्फबाट दुई लाख ५ हजार ५५५ रुपैयाँ सहयोग भएको छ ।

भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा गर्न सहज वातावरण बनेको भन्दै दुई महिनादेखि रोकिएको काम फाउण्डेशनले फेरि सुरु गरिसकेको छ ।

बन्द भएको फिल्ड कार्यालय खोलेर रंगशालाको फिल्डमा गर्न मिल्ने जति काम गर्न सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्