टी–२० विश्वकप : मलेसियाविरुद्ध नेपालको सहज जित, ज्ञानेन्द्रको अर्धशतक महत्वपूर्ण

काठमाडौँ , साउन ८ । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा सहज जित दर्ता गरेको छ । नेपालले बुधबार बिहान भएको खेलमा मलेसियालाई सात विकेटले पराजित गरेको हो ।

८४ रनको लक्ष्य नेपालले ८ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो । वर्षाका कारण खेल ९ ओभरमा छोट्याइएको थियो ।

नेपालका लागि यो खेलमा कप्तानको जिम्मा सम्हालेका ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । उनले २१ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ५१ रन बनाए । यस्तै विनोद भण्डारीले नटआउट १३ तथा प्रदीप ऐरीले १२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको मलेसियाले निर्धा्रित ९ ओभरमा सात विकेटको क्षतिमा ८३ रन बनाएको थियो । उसका लागि सिएद अजिजले ३० तथा विरनदीप सिंहले २१ रन बनाएका थिए । नेपालका सोमपाल कामीले तीन तथा बसन्त रेग्मीले दुई विकेट लिए ।

कप्तान पारस खड्का मंगलबार भएको कतारसँगको खेलमा सुरुदेखि नै समस्यामा देखिएका थिए । तर उनले खेले । मंगलबार बेलुका डाक्टरसँगको सल्लाहपछि उनी बुधबार मलेसिया विरुद्धको खेलमा सहभागी भएनन् । पहिलो खेलमा कतारसँग चार विकेटले हारेको नेपालका लागि यो जितले सम्भावना जीवित राखेको छ ।

यो प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनौटमा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्