बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन !
काठमाडौं, साउन ७ । बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
कन्जर्भे्टिभ पार्टीको नेताका रुपमा निर्वा्चित भएपछि जोन्सन टरिजा मेको उत्तराधिकारीका रुपमा बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको हो । पार्टीको नेतृत्वका जोन्सनले जेरेमी हन्टलाई हराएका हुन् ।
लण्डनका पूर्व मेयर र विदेश मन्त्रीसमेत बनिसकेका जोन्सनले ९२ हजार १ सय ५३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हन्टले ४६ हजार ६ सय ५६ मत प्राप्त गरे ।
पार्टीको नेतृत्वमा निर्वा्चिन भए पनि जोन्सनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न बुधबारसम्म पर्खनु पर्नेछ । बुधबार बेलायती संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा सहभागी भएपछि कामचलाउ प्रधानमन्त्री टरिजा मेले महारानीसमक्ष राजीनामा बुझाउनेछिन् ।
त्यसपछि मेको उत्तराधिकारीका रुपमा बकिंघम प्यालेस गएर महारानीबाट जोन्सनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन् ।
पूर्व विदेश मन्त्री बोरिस जोन्सनले सन् २०१६ मा जनमत संग्रहको दौरान ‘लिभ क्याम्पियन’ अर्थात् यूरोपियन संघबाट छुट्टिने अभियानको नेतृत्व गरेका थिए । तर केही दिनअघि जोन्सनले आफ्नो हातमा सत्ता आए बेलायत आगामी अक्टुबरमा कुनै सम्झौता गरेर या बिना कुनै सम्झौता युरोपियन युनियनबाट बाहिरिने बताएका थिए ।
टरिजा मेले आफ्नै पार्टीका सांसदबाट समेत ईयूबाट बाहिरिने प्रस्तावमा विरोध खेप्नु परेको थियो । तीन पटकसम्म संसदमा प्रस्ताव पारित हुन नसकेपछि उनले राजीनामा दिने घोषणा गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्