मुम्बईमा घर भत्किँदा १४ जनाको मृत्यु, कारबाहीमा परी आठ तालिबान लडाकू मारिए
काठमाडौं, साउन १ । भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अरु नौ जना घाइते भएका छन् ।
भवनमा अरु पनि मानिस च्यापिएको आशंकामा कुकुरको सहायताले खोजी कार्य अझै जारी रहेको खोज तथा उद्धार केन्द्रले जनाएको छ ।
उक्त भवन मंगलबार बिहान ११ बजे भत्किएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
स्थानीय महानगरले उक्त भवनलाई सन् २०१७ मा तत्काल भत्काउने गरी ग वर्गमा वर्गीकरण गरेको थियो । मुम्बईमा पुराना भवनहरु भत्किएर बर्से्नि ठूलो जनधनको क्षति हुने गरेको छ ।
उता देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ ।
हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने जिल्ला कजाकीमा अफगान सेनाले गरेको हवाई र स्थलगत कारबाहीमा परी आठ लडाकू मारिनुको साथै कैयौ हातहतियार कब्जा गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सो स्थानमा तालिाबान लडाकू लुकेर बसेका ३५ भन्दा बढी बासस्थान ध्वस्त भएको बताइएको छ ।
तर यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकतर्फ भने कुनै क्षति नभएको जनाइएको छ ।
यस कारबाहीको विषयमा सरकारसँग लडाइ गरिरहेका तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्