विश्वकपको उपाधि इंग्ल्याण्डले जित्यो, न्युजिल्यान्ड सुपर ओभरमा पराजित
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०१९ को उपाधि इंग्ल्यान्डले जितेको छ। लन्डनमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई सुपर ओभरमा हराउँदै आयोजक इंग्ल्याण्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । उसका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए ।
न्युजिल्यान्डले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । २९ रनमा पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डले सम्हालेर खेलेको थियो । दोस्रो विकेटको लागि कप्तान केन र निकोलसले ७४ रनको साझेदारी गर्दै उकासेका थिए ।
जवाफमा मैदान उत्रिएको घरेलु टोलीले पनि सबै विकेट गुमाएर २४१ रन नै बनायो । उसको सुरूवात खराब रह्यो ।
८६ रन जोड्दा ६ विकेट गुमाइकेको थियो तर, बेन स्टोक्स र जोस बट्लरले पारी उकासे । दुबैले १०८ रनको साझेदारी गरे । बट्लर ५९ रनमा आउट भए । त्यसपछि खेलमा न्युजिल्याण्ड हावी भयो, घरेलु टोलीले एकपछि अर्को विकेट गुमायो र अन्तिम ओभरमा ६ बलमा १५ रन चाहियो ।
ट्रेन्ट बोल्टले सुरूको दुइ बलमा रन दिएनन् तर, तेस्रो र चौथो बलमा छक्का हानेपछि खेलले रोमाञ्चक मोड लियो । अब २ बलमा तीन रन चाहियो इंग्ल्याण्डलाई ।
पाँचौं बलमा घरेलु टोलीले एक रन त लियो तर आदिल रसिद रनआउट भए । अन्तिम बलमा दुई रन चाहियो । एक रन जोडेर अर्को रनका लागि दौडिएका मार्क वुड रन आउट भएपछि खेल बराबरी भयो ।
सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनलसम्म पुगे पनि इंग्ल्याण्ड टिम उपविजेतामै सीमित बनेको थियो । न्युजिल्यान्ड भने सन् २०१५ को फाइनलमा पुगे पनि अस्ट्रेलियासँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्