‘सरकार म बाँच्न चाहन्छु, मलाई केही गरेर खाने वातावरण बनाइयोस्’

काठमाडौँ, असार २४ । कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह माल भारतमा आफ्नो जबरजस्ती लिंग परिवर्तन गरिएको भन्दै न्याय माग्दै मिडियामा आएका छन्।

नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका व्यक्तिले आफूलाई अहिलेको हालतमा र्पुयाएको उनको भनाई छ। उनले भने्,‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे।’

सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफूलाई बेहोस बनाएर जबरजस्ती आफ्नो लिङग परिवर्तन गराउने काम भएको उनले सुनाए। उनले भने्,‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेश्रो लिङगी महिलाले मलाई यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाई आफ्नो डेरामा लगेर गएका थिए।’

एकरदुई दिन आफूलाई कुनै काम नलगाएपनि पाकिस्तानले वायुमा कुनै हानिकारक ग्याँस छोडेको जनाउँदै त्यसको एन्टिवायोटिक औषधिको रुपमा आफूलाई अस्पतालबाट एक जना डक्टर र नर्स बोलाएर सिरिन्ज लगाएको र त्यसपछि होसमा आउँदा फेरि सिरिन्ज लगाएर महिनौंसम्म बेहोस बनाएर राखेको उनको भनाइ छ।

आफूलाई चाररपाँच दिनमा होसमा आउँदा पुनः सिरिन्ज लगाएर बेहोस बनाई राखेको भन्दै उनले यस्तो प्रक्रिया तीन महिनासम्म चलेको उनले बताए। उनले भने, ‘करिब साढे तीन महिनापछि मलाई थाहै नभएको अस्पतालबाट पुनः जम्बु ल्याए।’

आफूलाई जहाँ लैजाँदा पनि बेहोस बनाएर लैजाने गरेका कारण आफूलाई कहाँ, किन र के कारणका लागि लगिँदैछ भन्ने कुनै थाहा नभएको पनि उनले सुनाए। आफूलाई अस्तपालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण आफूमा महिलाको ‘हर्माेन’ विकास भएको उनले बताए।

रिपोर्टर्स क्लबमा आएका सुरेन्द्र सिंह माल बुवासँग पत्रकार सम्मेलनमा। तस्बिर(रिपोर्टर्स क्लब
आफ्नो लिङग परिवर्तन गराईसकेपछि दुई बर्षसम्म समलिङगीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उनको भनाई छ।

आफ्नो गोप्य अंग काटेर फालेको र लिङग परिवर्तन गराएको कुरा महशुस भएपछि आफूलाई सोध्नेसम्मको आँट नभएको उनको भनाइ छ।अहिले आफ्नो लिङग काटेर फालेको र सिलाएर पिसाब गर्ने ठाँउमात्र राखेको भन्दै आफ्नो शरिरमा प्रजनन् सम्बन्धी कुनै विकास नभएको उनले बताए।

उनले अहिले आएर आफूमा महिलासम्बन्धी विचारहरु आएपनि आफू पूर्ण महिलाको रुपमा विकास भैनसकेको बताए। ‘मलाई नपुंसक बनाइयो। मर्न जाँदा आमा पनि सँगै मर्न जान खोज्छिन्। परिवारको गर्जो टार्न कामको लागि भारत गएको थिएँ। अहिले आफन्तको अगाडि मलाई बाँच्न नसक्ने बनाइयो।’– उनको भनाई छ।

मंगलबार रिपोटर्स क्लब नेपालमा आफ्ना बुवासँगै आएका पीडित सुरेन्द्रले आफूमा बाँच्ने कुनै रहर नभएको बताउँदै उनले यो उमेरमा आफूलाई यस्तो हालतमा र्पुयाउनेको हालत आफ्नो जस्तै होस् भन्ने आफ्नो चाहना भएको उनले बताए।

आफूलाई परेको गम्भिर समस्याको बारेमा सरकारको ध्यानाकर्षण होस् भन्दै आफू मिडियामा आएको उनको भनाई छ। उनले भने्,‘जीवनमा के गरेर बाँच्ने? के खाने? कहाँ बस्ने? मलाई यी कुराले पिरोलेको छ, यी सबै कुराको सरकारले व्यवस्था गरिदिन पनि म यहीँबाट आग्रह गर्दछु।’

‘मलाई बाँच्न शक्तिको आवश्यकता छ। सरकारले कुनै रोजगारीको सुनिश्चितता गरिदिए म बिगत बिर्सेर आफ्नो काममा लाग्ने थिएँ’– उनले बलौना गरे।

‘अब मेरो परिवार छैन। मैले सन्तान जन्माउन सक्दिन। न त केटा नै बन्न सक्छु। पिसाब गर्दा पहिला राम्रैसँग भएपनि अहिले आएर लुगा भिज्ने गरि छरिने र राम्रोसँग नहुने जस्ता समस्या देखिँदै आएका छन्’–उनले दुःखेसो पोखे।

अब आफ्नो भन्ने कोही नभएको र परिवारिक अवस्थापनि दिन प्रतिदिन कमजोर बन्दै गएका कारण पूनः शल्यक्रिया गर्ने आफ्नो हैसियत नभएकोले झन ठूलो समस्यामा परेको उनको गुनासो छ।

‘म पनि मानिस हुँ । मेरो पनि बाँच्ने रहर छ। तर, सरकारले कानुन नै छैन भन्ने गरेको छ। अब यस्तो वि षयमा म के गरेर जीवन बिताउने?’–उनले प्रश्न गरे।

काठमाडौँमा आफू न्याय माग्नको लागि आएको उनले सुनाए। उनले थपे्,‘म काठमाडौंमा अलपत्रजस्तै परेको छु, सरकारसँग मेरो एउटामात्रै आग्रह भनेको मलाई बाँच्ने आधार र वातावरण बनाईदिनुर्पयो।’

उनले काठमाडौंमा आफूलाई ‘न्यू संखुवासभा गेस्ट हाउस’ ले खाने र बस्ने व्यवस्था गरिदिएको बताए। उनले भने्,‘अहिलेसम्म त यो गेष्टहाउसले मलाई खाने बस्ने व्यवस्था गरिदिएको छ, अब आउने दिनमा के गर्ने र कता जाने? भन्नेबारे मसँग कुनै आधार छैन्।’

उक्त गेस्टहाउसका मालिक टंकलाई धन्यवाद दिँदै सरकारले पनि आफूमा कुनै गुण लगाए बाँच्ने आशा पलाउने थियो भन्ने उनको भनाई थियो। गाउँमा आफ्न्तले छोरा भए बुहारी ल्याउँथे, छोरी भए कन्यादान गर्थें भन्दै मजाक उडाउने गरेको कारण आफूलाई गाउँ फर्कन मन नभएको उनले पीडा पोखे।

करिब चार वर्षसम्म आफूले भारतमा नरकीय जीवन बिताएको भन्दै उनले आफूलाई यो हालतमा र्पुयाउने आरोपीलाई जतिसक्दो चाँडो कानुनी कारबाहीको दायरमा ल्याउन नेपाल सरकार र मिडिया जगतले भूमिका खेलिदिनुपर्ने आग्रह गरे।

कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी लिन नमानेको उनको भनाई छ। उनले भने्,‘मेरो लागि प्रहरीले पनि कुनै न्यायको प्रयास नगरेपछि आत्महत्याको विचार पलाउँदै आएको थियो, तर मलाई आत्महत्या गर्नबाट परिवारकै सदस्यले रोक्ने काम गर्नुभयो।’

आफुले प्रहरीसँग उक्त केसमा मुद्दा दर्ताको विषयमा जानकारी लिन खोज्दा उल्टै आफ्ना दाजुलाई दुई घण्टासम्म थुनामा राखेको पनि उनको भनाई छ।

‘म समाजमा बस्न नसक्ने अवस्थामा पुगेको छु। म बच्चा जन्माउन पनि समर्थ छैन र बुवा बन्न सक्ने अवस्थामा छैन। अब मैले कसरी जीवन बिताउने? मेरो आधार भन्ने केही छैन?’, उनले भने, ‘सरकार म बाँच्न चाहन्छु। मलाई केहि गरेर खाने वातावरण बनाईयोस्।’

प्रतिक्रिया दिनुहोस्