इंग्ल्यान्ड पुग्यो विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं, असार १९ । न्युजिल्यान्डलाई हराउँदै आयोजक इंग्ल्यान्ड एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्यानचेस्टरमा गएराती भएको लिग चरणको आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १ सय १९ रनले पराजित गरेको हो ।

खेलमा इंग्ल्यान्डले दिएको ३ सय ६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभरमा अलआउट हुँदै १ सय ८६ रनमा समेटियो ।

उसका लागि टम लाथमले ५७ रन जोडेपनि अन्य कुनैपनि ब्याट्सम्यान जम्न सकेनन् । पाहुना टोलीलाई सस्तैमा समेट्न इंग्ल्यान्डका मार्क वुडले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो ।


इंग्ल्यान्डका लागि सुरुवाती जोडी जेसन रोय र जोनी बेयरस्ट्रोले पहिलो विकेटका लागि १ सय २३ रनको साझोदारी गरे । बेयरस्ट्रोले १ सय ६ रन जोड्दा रोयले ६० रनको योगदान दिए
जितसंगै इंग्ल्यान्ड ९ खेलबाट १२ अंक जोड्दै विश्वकपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ ।
यसअघि अष्ट्रेलिया र भारत सेमिफाइनलमा पुगिसकेका छन् । अब न्युजिल्यान्ड र पाकिस्तानमध्ये एक टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । पाकिस्तानले अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्