विश्वकप क्रिकेटः श्रीलंकाद्वारा वेस्ट इन्डिज पराजित
काठमाडौं, असार १७ । एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ ।
इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा गएराति भएको खेलमा श्रीलंकाले वेष्ट इन्डिजलाई २३ रनले पराजित गरेको हो ।
योसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै राखेको छ ।
इङ्ल्यान्डको चेस्टरमा श्रीलंकाले दिएको ३ सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन मात्र बनाउन सक्यो ।
वेष्ट इन्डिजका लागि निकोलस पुरनले ११८ रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । श्रीलंकाका लासिथ मालिंगाले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिश्का फर्नान्डोले १०४ रनको शतकीय इनिङ्स खेले ।
यस्तै कुशल परेराले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा लाहिरु थिरिमानेले अविजित ४५ रन बनाए । वेष्ट इन्डिजका जासन होल्डरले २ विकेट लिए ।
जितसँगै श्रीलंकाले ८ खेलबाट ८ अंक जोडेको छ । श्रीलंका तालिकाको छैटौं स्थानमा छ । प्रतियोगिताबाट बाहिरिइसकेको वेष्ट इन्डिजले ८ खेलबाट मात्र ३ अंक जोडेको छ ।
प्रतियोगिताअन्तर्गत आज भारत र बंगलादेश भिड्दै छन् । नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुने खेलमा विजयी हुँदै सेमिफाइनल पुग्ने योजनाका साथ भारत मैदानमा उत्रँदैछ ।
बंगलादेश पनि लिग चरणका आफ्ना बाँकी दुई खेल जित्दै इतिहासमै पहिलो पटक सेमिफाइनल प्रवेश गर्ने प्रयासका साथ भिड्ने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्