हङकङमा प्रदर्शन चर्कियो, संसद् भवनभित्रै छिरेर तोडफोड
काठमाडौं, असार १७ । सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा हङकङमा फेरि प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरु हङकङको संसद् भवनभित्रै छिरेका छन् ।
संसद् भवनभित्र प्रवेश गरेका प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । दर्जनौं प्रदर्शनकारी जबरजस्ती संसद् भवनभित्र छिरेर भवनको झ्यालका सिसा फुटाइदिएका छन् ।
उनीहरुलाई संसद् भवनबाहिर प्रदर्शन गरिरहेकाहरुले साथ दिएका थिए । प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको थियो ।
निकै कडा परिश्रमपछि मात्रै प्रहरीले प्रदर्शनकारीहरुलाई धपाउन सफल भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि प्रदर्शनकारीहरु संसद् भवनभित्र प्रवेश गरेर केही घण्टा बसेका थिए ।
बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२ औँ वार्षिकोत्सव मनाइँदै गर्दा उनीहरु संसद्भित्र छिरेको बताइएको छ ।
तर मध्यरातसम्म प्रदर्शनकारीहरु बाहिर ननिस्किएपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।
सरकारले विधेयक अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरे पनि प्रदर्शनकारीहरुले त्यसको खारेजी र प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्