किम जोङ उनलाई भेट्न ट्रम्प पहिलो पटक उत्तर कोरियाली भूमिमा पुगे
कठमाडौं, असार १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ । यी दुई नेताबीच यो तेस्रो भेटवार्ता हो ।
उत्तर कोरिया र दक्षिण कोरियाको असैन्यकृत क्षेत्र (डीएमजेड) मा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले संक्षिप्त भेट गरेका हुन् ।
यो भेटपछि दुई देशबीच बढिरहेको तनाव कम हुनसक्ने बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरिया पुगेका छन् ।
दुई कोरियाली सीमा क्षेत्र पानमुनजोममा पुगेर उत्तर कोरियाली भूमि टेकेका हुन् । उनी उत्तर कोरियाली नेता किम जोङ उनसँगको तेस्रो शिखर वार्ताका लागि पहिलो पटक उत्तर कोरियाली भूमिमा पुगेका हुन् ।
‘यो विश्वका लागि विशेष दिन हो’, भेटपछि संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘सीमामा पाइला टेक्नु ठूलो सम्मान थियो ।’ भेटसँगै दुई देशबीच महान् सम्बन्धको विकास भएको उनले बताए ।
‘अढाई वर्षअघि धेरै खराब थियो जुन दक्षिण कोरिया, उत्तर कोरिया तथा विश्वका लागि खतरा थियो’ ट्रम्पले भनेका छन् । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली सीमामा पाइला टेक्न पाउँदा ‘गर्व’ लागेको बताए ।
ट्रम्पले किमसँग पहिलो पटक सिंगापुरमा २०१८ जुन १२ र दोस्रो पटक भियतनाममा त्यसै वर्षको फेब्रुअरीमा भेट गरेका थिए । ट्रम्प जापानमा सम्पन्न जी–२० सम्मेलनपश्चात् दक्षिण कोरिया हुँदै किमलाई भेट्न त्यहाँ पुगेका हुन् ।
उत्तर कोरियालाई विवादास्पद परमाणु हतियारको कार्यक्रम रोक्ने मनसायका साथ ट्रम्प र किमबीच पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो । पहिलो भेटबाट केही उपलब्धि हुन सकेन ।
गएको महिना भियतनामको हनोइमा गएको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा परमाणु कार्यक्रमले गति लिने अपेक्षा गरिएको थियो । तर दोस्रो बैठक पनि बिना कुनै सम्झौता सकिएको थियो ।
भरखरै मात्र अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले चिठी आदनप्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्