प्रधानमन्त्री कप महिला क्रिकेट : पहिलो खेलमा सुदूरपश्चिम विजयी
काठमाडौं, असार ४ । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाए । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई विकेट तथा कविता जोशीले एक विकेट लिएका थिए । गण्डकीका तीन खेलाडी रन आउट भएका थिए ।
लक्ष्य पूरा गर्न ब्याटिङमा उत्रेको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धा्रित २० ओभरको खेलमा सात ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाएका थिए ।
गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिएका थिए । खेलको म्यान अफ दी म्याच कविता कुँवरलाई घोषित गरियो ।
प्रतिक्रिया दिनुहोस्