जिप दुर्घटना(अपडेट), मृत्यु हुनेको संख्या ९ पुग्यो, घाइतेहरुलाई जिल्ला अस्पताल बझाङ ल्याइँदै

काठमाडौं , असार २ । बझाङमा एक यात्रीवहाक जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यस अघि ६ जनाको मृत्यु भएको थियो ।


मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र एक बालिका छन् । मृतकहरुको सनाखत भएको छैन ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ ।

सोमबार सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो ।

मष्टा गाउँपालिका वडा नम्बर–१, डौठी भन्ने ठाउँमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ९ जनाको मृत्यु भएको र ५ जना गम्भीर घाइते रहेको घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालय चैनपुरका सइ महानन्द जोशीले इमेजखबरलाई बताए ।

उनकाअनुसार जिपमा कतिजना सवार थिए भन्ने खुलेको छैन । जिप भीरमा अड्किएको अवस्थामा छ । उद्धारकार्य जारी छ ।

घाइतेहरुलाई जिल्ला अस्पताल बझाङ ल्याइँदैछ ।

जिप सडकबाट करिब ५०० मिटर तल अफ्ठ्यारो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको सइ जोशीको भनाइ छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्