विश्वकप क्रिकेटमा आज श्रीलंका विरुद्ध बंगलादेश भिड्दै

काठमाडौ, २८ जेठ । एकदिवसीय विश्वकप क्रिकेट २०१९मा आज श्रीलंकाले बंगलादेशसँग खेल्दैछ ।

ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र बंगलादेशबीचको खेल सुरु हुनेछ । दवै टिमले तीन–तीन खेल खेलेका छन् । श्रीलंकाले खेलेको तीन खेलमध्ये एक खेलमा जित एक खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ भने बंगलादेशले यसअघि खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।


दुवै टिम जारी विश्वकपमा दोस्रो जितको खोजीमा हुनेछन् । कुनै एक समय यस्तो थियो, श्रीलंकालाई पराजित गर्नु सबै टिमको लागि कठिन थियो । जब, कुमार सांगाकारा, मेहला जयवर्दने लगायत खेलाडीले सन्यास लिए, श्रीलंकाली टिम खस्किँदै गयो ।अहिले विश्वकपमा कमजोर मानिएको बंगलादेशसँग पनि श्रीलंका डराउनु पर्ने अवस्था आएको छ । यता, बंगलादेशले भने जारी विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले सनसनीपूर्ण जित निकाल्दै राम्रो सुरुवात गरेको थियो ।

त्यसकारण बंगलादेश पछिल्लो समयमा बलियो टिममा गनिएको छ ।

श्रीलंकाका लागि कुशल परेरा, कप्तान दिमुथ करुनरत्ने, कुशल मेन्डिस, अभिस्का फेर्नान्डो जस्ता ब्याट्सम्यान र धनन्जय डे सिल्भा, एन्जेलो मेथेवस, थिसरा परेरा जस्ता अलराउण्डरले महत्वपूर्ण भूमिका खेल्नेछन् । यता, बलर लासिथ मालिंगा श्रीलंकाका गेम चेन्जर खेलाडी हुन् ।

यता, बंगलादेशको पनि पछिल्लो समयमा ब्याटिङ बलियो बनेको छ । लिटोन दास, मोहम्मद मिथुन, मोसादक हुसेन, मुस्फिक्युर रहिम, सब्बर रहमान, सौम्या सरकार, सकिब अल हसनजस्ता खेलाडीले बंगलादेशको ब्याटिङ उकास्ने छन् । बलिङमा पनि बंगालदेश राम्रो छ । कप्तान मश्रफे मोरटजा, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, अबु जायदलगायत बलरमा बंगलादेशको पूर्ण विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्