विसालु च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

काठमाडौ, २७ जेठ । पाल्पामा विसालु च्याँउ खाएर दुई जनाको मृत्यु भएको छ । निस्दी गाँउपालिका वडा नम्बर ३ कार्कीडाँडाका ४ वर्षीय विष्णुसिंह ठकुरीको उपचारको क्रममा ज्यान गएपछि मृत्यु हुनेको संख्या दुई पुगेको हो ।

ठकुरीको आइतबार बेलुका पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जंगली च्याँउ खाँदा गम्भीर बिरामी परेकी ९ वर्षीया निर्मला ठकुरीको शनिबार बेलुका उपचारको क्रममा पुरानो मेडिकल कलेजमै ज्यान गएको थियो ।

गएको शुक्रबार साँझ घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी भएका ४५ वर्षीय पूर्णबहादुर खाँचा, उहाकी श्रीमती ३६ वर्षीया चनकुमारी, छोरी १५ वर्षका बिमला खाम्चा, स्थानीय ८० वर्षीय प्रेम बहादुर ठकुरी, २९ वर्षीया दानमायासिंह ठकुरी, ८ वर्षीय सुमन ठकुरी, ३० वर्षीय धन कुमारी ठकुरी, १४ वर्षीय निरुता ठकुरी र १२ वर्षीया निसा ठकुरीको पूर्वी नवलपरासीको मध्यविन्दु अस्पताल डण्डामा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्