भिषण वर्षासहितको हावाहुरीले २६ जनाको मृत्यु , ५७ घाइते

काठमाडौं, जेठ २५ । भारतमा वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा परी अन्य ५७ जना घाइते भएका छन् ।

आँधीबाट प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको छ ।

स्थानीय प्रशासनले मृतकका परिवारलाई जनही भारतीय रुपैयाँ चार लाख दिने घोषणा गरेको छ ।

आँधीबाट ठूलो सङ्ख्यामा घरपालुवा पशुपक्षी पनि मरेका छन् । आँधी प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

यसैबिच उत्तर प्रदेशका राहत उद्धारमा खटेका आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिए भने आँधी र चट्याङका कारण २६ जनाको मृत्यु भउको खबर प्राप्त भएको बताए ।

आँधीको कारण १६ ओटा घरमा नराम्ररी क्षतिग्रस्त पुगेको छ । आँधी प्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्