भारतमा आँधी र चट्याङका कारण १९ जनाको मृत्यु , दुबईमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गयो
काठमाडौं, जेठ २४ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् ।
उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ ओटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताए ।
उनले आँधीप्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको पनि जानकारी दिए ।
आँधीबाट प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका छन् ।
स्थानीय सन्चारमाध्यमकाअनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको छ ।
स्थानीय प्रशासनले मृतकका परिवारलाई जनही भारतीय रुपैयाँ चार लाख दिने घोषणा गरेको छ ।
आँधीबाट ठूलो संख्यामा घरपालुवा पशुपक्षी पनि मरेका छन् । आँधीप्रभावित क्षेत्रमा भएको जनधनको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
दुबईमा बस दुर्घटना, १७ जनाको ज्यान गयो
दुबईमा एक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बस ओमानबाट आइरहेको थियो ।
मुस्लिमहरुको पर्व इद–उल–फित्रको बिदा मनाएर फर्किरहेका यात्रीहरु सवार बस दुर्घटना भएको हो ।
बिहीबार साँझ भएको सो दुर्घटनामा पाँचजना घाइते भएका छन् ।
विभिन्न देशका ३१ जना सवार बस बाटोमा रहेको एक बोर्डमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ ।
चालकको लापरबाहीका कारण दुर्घटना भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्