मौसम खुले पनि हावाहुरी र पानी पर्न सक्नेः मौसमविद्
काठमाडौ, २४ जेठ । शुक्रबार बिहानै काठमाडौमा ठूलो हावाहुरी र पानी परेको थियो तर सात बजेपछि भने मौसम हल्का खुलेको छ ।
एकछिन मौसम खुले पनि फेरि हावाहुरी वतास सहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मध्य र पूर्वका धेरै ठाउँमा चट्याङ र तीव्र गतिको हुरीबताससहित पानी पर्ने भएकाले सावधानी अपनाउन समेत मौसमविद्ले आग्रह गरेका छन् ।
पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले काठमाडौ लगाएत मध्य र पूर्वका धेरै ठाउँमा चट्याङ र तीव्र गतिको हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिए । केही उच्च हिमाली भेगमा हिमपात पनि हुने हुनाले हिमाल चढ्न नजान पनि उनको सुझाव छ ।
उनका अनुसार बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा यही प्रणालीको असरले तीव्र गतिको हुरीबताससहित पानी परेको हो ।
यही प्रणाली आइपुगेकाले बिहानै उपत्यकासहित मध्य क्षेत्रका धेरै ठाउँमा तीव्रगतिको हुरीबताससहित पानी परेको थियो । अहिले यो प्रणाली पूर्वतिर सरिरहेकाले पूर्वमा पनि हुरीबतास चल्ने मौसमविद् सुवास रिमालको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्