नेपाल एअरलाइन्सको जापान उडान स्थगित, किन ?

काठमाण्डौ , जेठ २२ । नेपाल एअरलाइन्सको जापान उडान फेरि स्थगित भएको छ ।

१२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

गएको वैशाख १५ गते नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान पक्का भएको भन्दै हप्तामा ३ वटा उडानको तालिकासहित भाडा पनि तोकेको थियो । तर टिकट बुकिङ खुलाएको लामो समयसम्म पनि यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो ।

नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ ।

निगमले सन १९९४ देखि २००७ सम्म साताका दुई उडान गरेको गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने दाबी गरे पनि असफल भएको हो ।

अहिले निगमका एअरबसका २ वटा वाइडबडी, २ वटा न्यारोबडी र एउटा बोइङ ५७५ सिरिजको जहाजले मुम्बई, दिल्ली, बेंग्लोर, हङकङ, दुबई, कतार र मलेसियामा उडान गदै आइरहेका छन् ।

नेपालीहरुको बसोबास रहेको नारिता शहरमा उडान भर्ने तयारी भए पनि निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यात्रु नपाउने शहर ओसाका उडानलाई प्राथमिकता दिनुभएको थियो ।

ओसाकामा उडान गर्दा गर्दा यात्रु नपाउने सुझाव लत्याउँदै तालिका सार्वजनिक गरेको थियो ।

लामो दूरीमा उडान भरेर निगमलाई उकास्ने भन्दै निगमले पोहोरको असार र साउनमा २४ अर्ब रुपैयाँ खर्चेर एअरबस ३३०–२२० सिरिजका २ वटा जहाज ल्याएको थियो ।

निगमले नयाँ जहाजमार्फत दक्षिण कोरिया, जापान र चीनमा उडान भर्ने जनाएको थियो । तर कमजोर व्यवस्थापनका कारण लामो दुरीमा उडान भर्न नसक्दा २ सय ७४ सिटे वाइडबडी जहाज पनि छोटा र मध्यम दुरीमै खुम्चिएका छन

प्रतिक्रिया दिनुहोस्