विश्वकप क्रिकेटखेल मा आज भारत र दक्षिण अफ्रिका खेल्दै
काठमाडौं, २२ जेठ । विश्वकप क्रिकेट उपाधिको प्रमुख दावेदारको रुपमा रहेको भारतीय टोलीले आईसीसी एक दिवशीय विश्वकपको आफ्नो पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध बुधबार विराट कोहलीको कप्तानीमा खेल्दैछ ।
भारतको यो पहिलो खेल भए पनि दक्षिण अफ्रिकाले यसअघि २ खेल खेलिसकेको छ । पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्डसँग १०४ रनले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको थियो ।
अब्बल स्टार खेलाडीहरुले भरिएको उपाधि दावेदार भएर पनि उसले अहिलेसम्म विश्वकप ट्रफी चुम्न सकेको छैन । बिगतको नतिजालाई हेर्ने हो भने दक्षिण अफ्रिकालाई अभागी टिमको रुपमा लिन सकिन्छ ।
प्रतियोगिता सुरु भइसकेपछि दक्षिण अफ्रिकाका मुख्य बलर डेल स्टेन चोटका कारण बाहिरिएका छन् । लुंगी एनगिदी पनि १० दिनका लागि बाहिर रहेका छन् । साउथ ह्याम्प्टनमा हुने खेलका लागि भारतीय टोलीलाई यो खुसीको खवर हो । किनभने न्यूजिलयाण्डबिरुद्धको अभ्यास खेलमा भारतीय ब्याट्सम्यान फाष्ट बलर सामू निरिह देखिए थिए ।
भारतका लागि सुरुआती तीन ब्याट्सम्यानकै प्रदर्शन पूरा टिमको प्रदर्शनको आकलन गर्न सकिन्छ । शिखर धवन र रोहित शर्माले भारतको ओपनिङ गर्नेछन् । तेस्रो नम्बरमा कप्तान कोहलीले ब्याटिङ गर्नेछन् ।
त्यसैगरि भारतीय टिमको बलिङमा जसप्रित बुम्राह र भूवनेश्वर कुमारले फाष्ट बलिङ जिम्मेवारी लिन सक्ने अनुमान छ । तेस्रो फाष्ट बलरका रुपमा अलराउण्डर हार्दिक पण्ड्या पनि बिकल्प हुनेछन् । स्पिनमा कुलदीप यादव, युजवेन्द्र चहल र रविन्द्र जडेजा हुनेछन् ।
दक्षिण अफ्रिकाका मुख्य समस्या चाहि ब्याटिङमा हो । कप्तान फाफ डु प्लेसिसले लगातार दोस्रो हारपछि यही भनेका थिए । क्वीन्टन डी कक र प्लेसिसले मात्रै अहिलेसम्म राम्रो प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्