श्रीलंकामा ९ मुस्लिम मन्त्रीले दिए सामूहिक राजीनामा , किन ?
काठमाडौं, जेठ २१ । श्रीलंकामा ९ मुस्लिम मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । श्रीलंकामा पछिल्लो समय मुस्लिम समुदायमाथिको फरक व्यवहार बढ्दै गएको छ ।
यहि घटनाक्रमको विकास हुँदै जाँदा सरकारमा रहेका सबै ९ जना मुसलमान मन्त्रीले राजीनामा दिएको बुझीएको छ । संगसंगै दुई प्रान्तका मुसलमान गभर्नरले पनि राजीनामा दिएका छन् ।
यो घटनापछि बौद्ध धर्मावलम्बी बाहुल्य रहेको श्रीलंकामा गएको अप्रिल २१ मा इस्टरका दिन राजधानी कोलम्बोमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरुमा भएको आक्रमणपछि श्रीलंकामा आन्तरिक मतभेद बढेको पुष्टि भएको बताइन्छ ।
इस्टरका दिन भएको आक्रमणमा २५० जनाको ज्यान गएको थियो । श्रीलंकाका प्रभावशाली बौद्ध सन्यासी अथुरालिये रतनाले मुसलमानको विरोधमा आमरण अनशन गरेपछि मन्त्रीहरुले राजीनामा दिएका हुन् । रतनाले दुई प्रान्तका मुस्लिम गभर्नर र एक मन्त्रीले राजीनामा दिनु पर्ने माग गर्दै अनशन सुरु गरेका थिए ।
उनले राष्ट्रपतिसँग मन्त्रीहरुलाई हटाउन माग गरिरहेका थिए । मन्त्री तथा गभर्नरहरुको आत्मघाती आक्रमणकारीसँग सम्बन्ध रहेको आरोप रतनाले लगाएका छन् । रतनाले अरु आठ मुस्लिम मन्त्रीलाई निशाना बनाएका थिएनन् ।
तर रतनाले आरोप लगाएका मन्त्रीलाई अरु आठ मन्त्रीले साथ दिएका हुन् । मन्त्रीहरुको राजीनामाले सरकारलाई असर भने पर्ने छैन किनकी उनीहरुले सांसदका रुपमा सरकारकै साथमा छन् ।
आरोपका सम्बन्धमा छानबिन गर्न सजिलो होस् भन्नका लागि मन्त्रीहरुले राजीनामा दिएको मुस्लिम कांग्रेसका सांसद राउफ हाकीमले बताएको बिबिसीले उल्लेख गरेको छ ।
श्रीलंकामा अहिले मुस्लिम विरोधी अभियान चलेको र आरोपहरु लाग्ने क्रम रहेको उनले बताएका छन् । त्यसबाट मुक्त हुनका लागि राजीनामा आएको उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्