सेनाको गोली लागि ३० भन्दा बढीको ज्यान गयो
काठमाडौं, जेठ २१ । सुडानमा ९ महिनाभित्र आमनिर्वाचन गर्ने घोषणा गरिरहदा सेनाको गोली लागि ३० जना भन्दा बढीको ज्यान गएको छ ।
सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आमनिर्वाचन गर्ने घोषणा गरेको छ ।
सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३० जनाभन्दा बढीको ज्यान गएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो ।
सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय सुपरीवेक्षणमा निर्वाचन गराइने बताए ।
विगत ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेको सेनाले सैनिक परिषद गठन गरी तीन वर्षभित्र नागरिकलाई सत्ता सुम्पन सहमत भएको थियो । तर नागरिक स्तरबाट प्रदर्शन नरोकिएपछि सेनाले एकाएक हस्तक्षेप गरेको हो ।
सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए । धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको हो ।
प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन् ।
आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ ।
संयुक्तराज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह गरेका छन् ।
यी दुवै मुलुकले नागरिकलाई शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दबाब दिइरहेका छन् ।
सुडानको प्रभावशाली नागरिक संस्था चिकित्सकहरूको केन्द्रीय टोलीले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्