विश्वकप क्रिकेट २०१९ मा जो रुट भए शतक प्रहार गर्ने पहिलो खेलाडीे
इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोलीका जो रुटले पहिलो शतक प्रहार गरेका छन् । सोमवार पाकिस्तानविरुद्ध इंग्ल्याण्डका जो रुटसहित जस बटलरले समेत शतक प्रहार गरे । पाकिस्तानविरुद्धको खेलमा रुटले ९७ बलमा शतक पूरा गरेका हुन् । ३ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका
रुट ३८.५ ओभरमा साहव खानको बलमा मोहम्मद हफीजको हातबाट क्याच आउट हुनुअघि १०७ रनको उत्कृष्ट पारी खेले । रुटको यो करिअरको १५औं एकदिवसीय शतक हो भने जारी विश्वकपको पहिलो । १०४ बल सामना गरेका रुटले १० चौका र १ छक्का प्रहार गरेका छन् ।
इंग्ल्याण्डका लागि जस बटलरले पनि शतक प्रहार गरेका छन् । उनको पनि पहिलो विश्वकप शतक हो भने करिअरको नवौं एकदिवसीय शतक हो । २८ वर्षीय बटलरले ७५ बलमा शतक पूरा गरेका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनले पाकिस्तानका मोहम्मद आमिरको बलमा चौका प्रहार गरी शतक पूरा गरे । ७५ बल खेलेर ९ चौका र २ छक्का प्रहार गरेका उनले शतकपछिको पहिलो बलमै वाहव रियाजको हातबाट क्याच आउट भए ।
प्रतिक्रिया दिनुहोस्