विश्वकप क्रिकेट: इंग्ल्याण्डविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरुद्धको खेलमा पाकिस्तानको रोमाञ्चक जित भएको छ । जितसंगै यो संस्करणमा पाकिस्तानले पहिलो जित हात पारेको छ । जसमा उसले घरेलु टिम इंग्ल्याण्डलाई १४ रनले हरायो । पाकिस्तानले एकदिवसीय खेलमा ११ खेलपछि पहिलो जित निकालेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ४८ रन बनायो । उसले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको थियो । ३४९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड ५० ओभरमा नौ विकेट गुमाउँदा तीन सय ३४ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको इंग्ल्याण्डले १२ रनमा पहिलो विकेट गुमायो ।
त्यसपछि उसको स्कोर ६० रन हुँदा दोस्रो विकेट झर्यो । सुरुवाति खेलाडीले राम्रो खेल्न नसक्दा इंग्ल्याण्डले एक सय १८ रनमा चार विकेट खेर फाल्यो । इंग्ल्याण्डका ओपनर जेसोन रोय ८ रनमा आउट भए भने जोनी बेयरस्टो ३२ रनमा पेभेलियन फर्किए ।

तर पाँचौ विकेटका लागि जोय रुट र जस बट्लरले एक सय ३० रनको साझेदारी गर्दै पारि सम्हालेका थिए । जसमा रुटले शतकीय पारी खेले । तर रुट एक सय चार बलमा १० चौका र एक छक्काको मद्दतमा एक सय सात रन बनाउँदा आउट भएपछि इंग्ल्याण्डले दुई सय ४८ रनमा पाँचौ विकेट गुमायो ।

त्यसपछि जस बटलरले पनि शतक प्रहार गरे । विश्वकपमा कम बलमा शतक बनाउने पहिलो इंग्ल्याण्डको खेलाडी बनेका बट्लरले ७५ बलमा शतक बनाएका थिए । जसमा उनले नौ चौका र दुई छक्का प्रहार गरे । तर एक सय तीन रनमा आउट भएपछि इंग्ल्याण्ड ठूलो दबाबमा परेको थियो । त्यसपछि मोइन अलीले १९ र क्रिस वक्सले २१ रन थपेका थिए । इंग्ल्याण्डलाई अन्तिममा जितका लागि २५ रन चाहिएको थियो । तर उसले पूरा गर्न सकेन ।
बलिङमा पाकिस्तानका सादाब खान र मोहम्मद आमिरले दुई तथा वहाब रियाजले तीन विकेट लिए । उसका फखर जमानले ३६ रन बनाए भने इमाम उल हकले ४४ तथा बाबर आजमले ६३ र मोहम्मद हफीजले ८४ रन थपे । यस्तै कप्तान सरफराज अहमदले ५५ रनको योगदान गरे ।
इंग्ल्याण्डका लागि क्रिस वोक्स र मोइन अलीले समान ३–३ विकेट र मार्क वुडले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्