विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरे , त्यस्ता सङ्गठनलाई सरकारले दण्डित गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं, जेठ १९ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले धर्म, संस्कृतिको संरक्षण चुनौतीपुर्ण बन्दै गएकोे बताएका छन् ।

उनले पछिल्लो समय विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै उनले संविधानले धर्म परिवर्तनलाई छुट नदिएको भए पनि गरीबीका कारण देखाएर विदेशीले धर्म परिवर्तन गरिरहेकामा चिन्ता व्यक्त समेत गरे ।

यही जेठ २७ गते सम्म जारी रहने उक्त महायज्ञमा डा.यादवले प्राचीन संस्कृतिका आधारमा बनेका हाम्रा परम्परा, इतिहासको संरक्षण गरी तत्कालीन सभ्यताको अध्ययन गर्न सकिने औंल्याए ।

विभिन्न जाति, संस्कृति र धर्मले सजिएको समाजमा अहिले एकताको खाँचो औँल्याउँदै उनले भने, ‘हिमालको काखमा रहेको नेपालमा सदियौँदेखि हिन्दू, बौद्ध र किरात धर्मको प्रभाव छ, यिनका संस्कृति र इतिहासलाई संरक्षण गर्नुपर्छ ।’

हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै नागरिकको भावनात्मक एकतालाई सम्बोधन गर्नसकेमा मात्र देशको राष्ट्रियता बलियो हुने उनको भनाइ थियो । डा.यादवले जैविक विविधतायुक्त नेपालमा रहेका विभिन्न प्राकृतिक, स्रोत साधनको उपयोग गरी राष्ट्रलाई समृद्ध बनाउन सकिने बताए ।

उनले चार दशकअघिसम्म धान निर्यात गर्ने प्रमुख राष्ट्रका रुपमा रहेको नेपालमा प्रकृतिमाथि भइरहेको दोहनले उपभोग्य वस्तुको आयात बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

चुरे क्षेत्रको संरक्षणमा सबै संवेदनशील हुनुपर्नेमा पनि पूर्वराष्ट्रपति डा.यादवको जोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्