अझैं केही दिन साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षा हुने, तराईमा भने सुख्खा कायमै
काठमाडौं , जेठ १९ । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझैं केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ।
बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
’तीनरचार दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने देखिन्छ। दिउँसो घाम लागे पनि साँझपख मौसममा बदली भई पश्चिम तराईबाहेकका स्थानमा वर्षा हुने सम्भावना छ,’ महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने।
जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रह्यो भने मनसुन हुन्छ तर त्यो प्रणाली हाल सुरु भइसकेको छैन। अहिले वायुमण्डलको तल्लो सतह (एक÷डेढ किलोमिटरसम्म) मात्र उक्त वायुको प्रभाव रहेको मौसमविद् अर्यालले जानकारी दिए।
सामान्यतया नेपालमा मनसुन सुरु हुने समय जुन १० हो। तर यस वर्ष झण्डै एक साता ढिला हुने देखिएको महाशाखाको अनुमान छ। नेपालमा मनसुन प्रवेश हुने भारतको केरलामा अहिलेसम्म मनसुन सुरु भएको छैन।
पश्चिम तराईमा केही दिन अझै सुक्खा
नेपालको पश्चिम तराईमा भने यस मौसम प्रणालीको प्रभाव छैन। बङ्गालको खाडीबाट पनि टाढा रहेको र पश्चिमी वायुको प्रभाव तराईमा सधैं नपर्ने भएकाले नेपालगञ्जदेखि पश्चिमको तराईमा भने अझै केही दिन सुक्खा रहने मौसमविद् अर्यालले जानकारी दिए।
पश्चिमी वायुको मौसम प्रणाली धेरै भयो भने मात्र पश्चिम तराईमा प्रभाव पर्ने हो, पश्चिमी वायुको प्रभाव सामान्यतया पश्चिम भेगका पहाडी र हिमाली क्षेत्रमा बढी पर्छ।
’पश्चिम तराईमा तत्काल वर्षा नभए पनि बादल देखिएर तीन÷चार डिग्री सेल्सियस तापक्रम घट्ने अनुमान छ,’ उनले भने।
पश्चिमी तराईमा हाल पूर्वको तुलनामा पाँच÷छ डिग्री सेल्सियस तापक्रम बढी छ। नेपालमा पश्चिमी वायु भूमध्यसागरबाट उत्तरपश्चिम हुँदै प्रवेश गर्छ।
महाशाखाको पछिल्लो २४ घण्टाको विवरणअनुसार पोखरामा सबैभन्दा बढी ३५ मिलिमिटर वर्षा भएको छ।रासस
प्रतिक्रिया दिनुहोस्