अब काठमाडौंमा दिनभर मालवाहक गाडी चलाउन नपाइने

काठमाडौं , जेठ १९ । अब काठमाडौंमा दिनभर मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले दिउसो मालवाहक गाडी उपत्यकामा चल्न नदिने निर्णय गरेको हो ।

यो निर्णय असार १ गतेदेखि लागु हुने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

निर्देशक दाहालका अनुसार यो नियम लागु भएपछि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उपत्यकाभित्र मालवाहक गाडी चलाउन पाइने छैन। अत्यावश्यक सामान ढुवानीका लागि भने निश्चित सवारीलाई छुट दिइएको छ ।

दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला, पेट्रोलियम पदार्थलगायत ढुवानीमा प्रयोग हुने सवारीको हकमा भने यो नियम लागु हुने छैन ।
आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको छ ।
काठमाडौंको मुख्य नाकामा जामको समस्या तीव्र भएपछि विभागले यस्तो कदम चालेको जनाएको छ । काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको विभाग स्रोतले जनाएको छ ।

काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ ।

त्यसैगरी चक्रपथ बाहिरको चाबहिल-जोरपाटी सडक, गोपीकृष्ण-कपन सडक, नारायणगोपाल चोक(बुढानीलकण्ठ सडक, बालाजु बाइपास(गोलढुंगा सडक, बगडोल-नख्खु सडक, सातदोबाटो-हरिसिद्धी सडक, ग्वार्को-चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालन गर्न रोकिने छ ।


अब नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने मालबाहक सवारी दिउँसो धादिङकै सडक खण्डमा रोकिनुपर्ने भएको छ । टोखाको बाटो भएर आउने सवारी पनि माथिल्लो भागमै रोकिनुपर्ने छ । ककनीको रुट हुँदै आउने मालबाहक सवारी गोलढुंगा अघि नै रोकिनुपर्ने छ । उनीहरुलाई रात परेपछि मात्रै काठमाडौंभित्र प्रवेश गर्न पाउने छन् ।

यसअघि रिंगरोडभित्र ठूला मालबाहक सवारीको मात्रै प्रवेश र सञ्चालन रोकिएको थियो । यो नियम लागु भएपछि सवारी जाम केहि कम हुने अपक्षा लिएको छ ।

काठमाडौं उपत्यकामा बढ्दो जाम न्युनीकरण र सहज रुपमा नाका सञ्चालनको व्यवस्थापनका लागि यो व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक कुमार दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्