साढे २ हजार बढीले अझै अपाङ्गता परिचयपत्र पाएनन्, सरकारी सुविधाबाट बञ्चित

काठमाडौं, जेठ १८ । डडेल्धुरामा साढे २ हजार बढीले अझै अपाङ्गता परिचयपत्र पाउन सकेका छैनन्।

अपाङ्गता भएका व्यक्तिको कुल संख्याको आधाभन्दा बढी परिचय पत्र पाउनबाट वञ्चित भएका छन् ।

हालसम्म २ हजार पाँच सय जनाले मात्र अपाङ्गता परिचय(पत्र पाएका जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराका अध्यक्ष गणेशप्रसाद अवस्थीले बताए ।

अझै दुई हजार ६ सय ५० जनाले परिचय-पत्र पाउन नसकेको उनले जानकारी दिए ।

पछिल्लो दुई वर्षयता अपाङ्गता परिचय-पत्र वितरण हुन सकेको छैन । अपाङ्गता भएका व्यक्तिले परिचय(पत्र नपाउँदा राज्यबाट प्रदान भएका विभिन्न सेवासुविधाहरुबाट समेत वञ्चित हुनुपर्ने अवस्था रहेको अध्यक्ष अवस्थीको भनाइ छ ।

२०६८ सालको जनगणना अनुसार डडेल्धुरामा पाँच हजार एक सय ५० जना अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा शारीरिक, दृष्टि, मानसिक, बोलाई, सुस्त श्रवण, दृष्टिविहीन र बहु अपांगता गरी ६७ हजार ८३० जना अपांगता भएका व्यक्ति रहेका छन् । जसमध्ये सबैभन्दा बढी कैलालीमा १५ हजार ३७८ अपांगता भएका व्यक्ति छन् ।

कञ्चनपुरमा ९ हजार ७०, अछाममा ८ हजार ६०२, बैतडीमा ७ हजार ७८८, डडेल्धुरामा ५ हजार १५०, दार्चुलामा ३ हजार ६६९, डोटीमा ७ हजार ३०२, बझाङमा ४ हजार ९७६, र बाजुरामा ५ हजार ८९५ अपांगता भएका व्यक्ति रहेको तथ्यांकले देखाउँछ ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख झंकरबहादुर रावलले अपाङ्गता भएका व्यक्तिको मानव अधिकारको अवस्था अरुको भन्दा नाजुक रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चित गर्न र उनीहरुको अवस्थालाई सुधार गर्नका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन् ।

यसरी अपाङ्गता भएका व्यक्तिले परिचय- पत्र नपाउँदा राज्यबाट प्रदान भएका विभिन्न सेवासुविधाहरुबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् । कहि कतै बाट पनि सहयोग नपाएका उनीहरु राज्यबाटै पनि ठगीन पुगेका छन् ।

उनीहरुको हकअधिकार र जिवनस्तरको सुधारका लागी कसैले पनि पहल गरेको छैन । त्यहाँका राजनितिकदल तथा अन्य संघ संस्थाले पनि ध्यान दिएको पाईदैन ।

यसैकारणले उनीहरु सरकारी सेवा सुविधा पाउनबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्