अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह, कुन ठाउँमा कस्तो ?
काठमाडौं , जेठ १८ । काठमाडौँ उपत्यकासहित आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।
पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताए ।
सामान्यतः प्रिमनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने बताइएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
सोमबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्