आर्मी क्लबका खेलाडीहरुलाई पुरस्कार प्रदान

काठमाडौं, १७ जेष्ट । नेपाली सेनाले आठौ राष्ट्रिय खेलकुद २०७५का विजयी खेलाडीहरुलाई
पुरस्कार प्रदान गरेको छ ।

गत चैत २७ गतेबाट २०७६ वैशाख ११ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रदेश नं.५ को विभिन्न स्थानहरुमा सम्पन्न भएको आठौ राष्ट्रिय खेलकुद २०७५ मा सहभागी भई विभिन्न पदक प्राप्त गर्न सफल त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति थापाले नेपाली सेनाको राष्ट्रिय खेलकुदलाई सहयोग र्पुयाउने एक महत्वपूर्ण जिम्मेवारी भएको बताउनुहुँदै पदक प्राप्त गर्नु हुने सम्पूर्ण खेलाडीहरुलाई बधाई दिनुभयो । खेलकुद र राष्ट्रका लागि खेलकुदू भन्ने कुरालाई मनन् गर्दै यसलाई कायम राखी राष्ट्रिय स्तरका खेलकुदमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरका खेलकुदहरुमा पदक जित्ने हौसला व्यक्त गर्नुभयो । उहाँले यसको लागि मेहनत र लगनसिलताका साथ अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।

उक्त पुरस्कार वितरण समारोहमा नेपाली सेनाका रथीबृन्द, पूर्व प्रधानसेनापतिहरु, युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, सञ्चारकर्मीहरु, अधिकृत वर्ग र त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा खेलाडीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

१४ दिनसम्म सञ्चालन भएको उक्त खेलकुद प्रतियोगितामा नेपाली सेनाका खेलाडीहरुले विभिन्न विधामा गरी १४८ स्वर्ण, ८४ रजत र ७२ कास्य गरी जम्मा ३०४ पदक प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्