दुर्गममा कर्मचारी आउँदैनन्, चिठ्ठी मात्र आउँछ
काठमाडौं, जेठ १७ । बझाङ जिल्लाका अधिकांश स्थानीय तह कर्मचारीविहीन भएका छन् ।
कर्मचारी समायोजनपछि कर्मचारी आ–आफ्नो पायक पर्ने ठाउँमा सरुवा भएर गएका कारण त्यहाँको स्थानीय तहमा यस्तो समस्या आएको हो ।
दुई वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङमा कर्मचारी नभएपछि सेवाग्राहीले अहिले निकै सास्ती खेप्नुपरेको बताएका छन् ।
मन्त्रालयबाट कर्मचारी खटाइएको पत्र पठाइएको भए पनि कर्मचारी कार्यालयसम्म पुग्दैनन् ।
जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही गत चैतमा सरुवा भएर गएपछि नगरपालिका अधिकृतविहीन हुन् पुगेको हो ।
कर्मचारी समायोजनका क्रममा भक्तराज जोशी, भीमबहादुर शाही, गम्भीरसिंह विष्ट नगरपालिकामा खटाइएको भए पनि बझाङ आउन नचाहेका कारण जिल्ला नपुग्दै बीचबाटोमै अन्यत्रै सरुवा मागेर जाने गरेका कारण तह कर्मचारीविहीन हुन पुगेको छ ।
प्रमुख प्रशासकीय अधिकृतका लागि बेलाबेला मन्त्रालयमा धाएको भए पनि दुर्गम भएका कारण कर्मचारी आउन नमान्ने र आए पनि बीचबाटो बाटै अर्को ठाउँ जाने गरेको जयपृथ्वी नगरपालिका प्रमुख वीरेन्द्रबहादुर खड्काको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्