विश्वकप क्रिकेटको १२ औं संस्करण आजदेखि , उद्घाटन खेलमा को – को भिड्दैछन् ?
काठमाडौं, जेठ १६ । विश्वकप क्रिकेट आजदेखि सुरु हुदैँछ । विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज (बिहिबार) बाट सुरु हुन लागेको हो ।
इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ ।
लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ ।
विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीचको खेल नेपाली समय अनुसार ३स् १५ मा सुरु हुनेछ ।
आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
त्यसैले एकदिवसीय वरियताको शीर्ष स्थानको इंग्ल्याण्ड र तेस्रो स्थानको दक्षिण अफ्रीकाबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
११ औं संस्करणको विश्वकप सकिदा दुवै टोलीले एकदिवसीय विश्वकप जित्न सकेका छैनन् । यद्दपि इंग्ल्याण्डले ३ पटक फाइनल खेलिसकेको छ ।
दक्षिण अफ्रिकाले भने फाइनल यात्रा तय गर्न सकेको छैन ।
गत संस्करणको विश्वकपमा इंग्ल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो भने अफ्रिका सेमिफाइनलमा अभागी साबित भएको थियो ।
विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डका कप्तान इयान मोर्गनले खेल्ने नखेल्ने दुविधा रहेको छ । तर, अभ्यासको क्रममा औलाको चोट बोकेका मोर्गनले पहिलो खेल खेल्ने सम्भावना उच्च रहेको छ ।
यता, दक्षिण अफ्रिकाका अनुभवी फास्ट बलर डेल स्टेन चोटका कारण खेल्ने छैनन् ।
प्रतिक्रिया दिनुहोस्