क्रिकेट रङ्गशालाको बार भत्काउने नेकपाका दुई नेता निलम्बनमा, क्रिकेट रंगशाला निर्माणको काम रोकियो
काठमाडौं, जेठ १६ । क्रिकेट रङ्गशालाको बार भत्काउने नेकपाका दुई नेतालाई निलम्बन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्वन गरेको हो ।
पार्टीले कँडेललाई पूर्णरुपमा निलम्वन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महीनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो ।
उनीहरुले बुधबार बिहान निर्माणाधीन रङ्गशालाको बार र सोही ठाउँमा यसअघि भएको तारे बार डोजर लगाएर भत्काएका थिए ।
उनीहरुले रङ्गशालाको जग्गाबाट पश्चिमतर्फ सडक चौडा गराउन माग गर्दै आएका थिए ।
पार्टीले आज जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको माग गर्दै क्षतिपूर्ति भराउनसमेत आग्रह गरेको छ । पार्टीले सो घटनाप्रति दुःख व्यक्त गरेको छ ।
जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिबद्धता जनाएको छ ।
कँडेल र बस्ताकोटीसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यसैबिच चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएपछि निर्माणको काम रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्