झापामा जंगली हात्तीको त्रास, सुरक्षाका लागि प्रहरी परिचालन गरियो
काठमाडौं, जेठ १४। झापामा जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्यहाँका स्थानीयमा त्रास फैलिएको छ।
झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव बस्तीकोबीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको हो ।
भारततिरबाट आएका ६ वटा हात्ती मंगलबार बिहानदेखि नै सो वडास्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन्।
हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ। हात्ती दिउँसो बास बस्ने र राति आहारका लागि सक्रिय हुने गर्दछ।
हात्तीबाट मानव बस्ती र विद्यालयमा क्षति नपुगोस् भनेर डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णु घिमिरेको नेतृत्वमा वन कार्यालयको टोली हात्ती रुग्न खटिएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै टोली विद्यालय र बस्तीको सुरक्षाका लागि परिचालन गरिएको छ।
करीब ३०० मिटरको दूरीमा रहेको श्री आधारभूत विद्यालयमा पढिरहेका डेढ सय विद्यार्थीलाई विद्यालय हाता बाहिर ननिस्कन र गाउँलेलाई हात्तीसँग नजिस्किन आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले बताए।
प्रतिक्रिया दिनुहोस्