मिडिया काउन्सिल विधेयक फिर्ता नलिने सरकारको अडान कायमै

काठमाडौं, जेठ १२ । मिडिया काउन्सिल विधेयक फिर्ता नलिने सरकारको अडान कायमै रहेको छ ।
राष्ट्रिय सभामा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता नलिने अडान सरकारले दोर्होयाएको छ ।

राष्ट्रिय सभाका अध्यक्षसँगको छलफलमा सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकल बाँस्कोटाले फिर्ता नलिने अडान दोर्होयाएका हुन् ।

उनले संसद सचिवालयमा दर्ता भइसकेको विधेयक प्रक्रियाबाटै किनारा लगाउनुपनमा जोड दिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रिय सभा तर्फका दलका नेता सुरेन्द्रराज पाण्डेले विधेयक फिर्ता लिएर सरोकारवालासँग छलफल गरेर मात्र अघि बढाउन आग्रह गरेको बताए ।

उनले सो विधेयकमा भएका प्रावधानले दीर्घकालीन असर पार्ने भन्दै चौतर्फी आलोचना भएकाले संसदमा पेस गर्नु अघि नै सरकारले फिर्ता लिएर संशोधन गर्नुपर्नेमा जोड दिएको बताए ।

सो विधेयकका विषयमा चौतर्फी आलोचना भएपछि कसरी अघि बढाउने भनेर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्तापक्ष तथा विपक्षी दलका नेता, प्रमुख सचेतक सचेतक, र मन्त्री बास्कोटालाई बोलाएर छलफल गरेका हुन् ।

उनले पहिलो चरणको छलफलमा कुनै निष्कर्ष ननिस्किएकाले फेरी छलफल गर्नुपर्ने बताउनुभएको पाण्डेले जानकारी दिए । मिडिया काउन्सिल सम्वन्धी विधेयक गत बैशाख २७ गते राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता भएपनि अझैसम्म प्रक्रियामा अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्