प्रधानमन्त्री कप : उद्घाटन खेलमा आर्मीको विजयी सुरुवात
काठमाडौं , जेठ १० । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले प्रदेश नम्बर २ लाई एक सय ७१ रनले हराएको हो ।
आर्मीले दिएको दुई सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ३१.४ ओभरमा सबै विकेट गुमाएर एक सय ७ रनमा समेटिएको थियो ।
प्रदेश २ का लागि हरी शंकर साहले सर्वा्धिक २१ रन बनाए । संसद शेखले १६, सुधीर चौधरीले १५ र राशिद खानले १४ रन बनाए । बलिङमा आर्मीका साहब आलमले चार विकेट हात पारे । जितेन्द्र मुखिया र सुसन भारीले दुई दुई विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धा्रित ५० ओभर नौ विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो । आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय इनिङ खेले ।
ओपनर राजुले ९० रन बनाए । विनोदले ६६ रन बनाएका थिए । रोहित कुमार पौडेलले ४७, हरि चौहानले २६ र सुशन भारीले अविजित १२ रन बनाएका थिए ।
बलिङमा प्रदेश २ का हरिशंकर साहले तीन विकेट लिए । जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले तीन अंक जोडेको छ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्