विराटनगर वासियर्सले चुम्यो इपिएल क्रिकेटको उपाधि, १ रनले भैरहवा पराजित

काठमाडौं – एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले हरायो । जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो ।

भैरहवालाई जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको भए पनि अनिल साहले ४ बलमा २ विकेट लिँदै विराटनगरलाई जिताए ।

साहले अन्तिम ओभरको दोश्रो बलमा कृष्ण कार्कीलाई ५ रनमा आउट गरे । उनको चौथो बलमा भुवन कार्कीलाई कप्तान पारस खड्काले खाता नै खोल्न नदिई रन आउट गरे । पाँचौ बलमा पुनित मिश्र पनि खाता नै नखोल्दै साहकै बलमा आउट भएपछि विराटनगरलाई जित सहज भयो । अन्तिम बलमा भुपेन्द्र थापाले ३ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन ।

भैरहवाका लागि कप्तान शरद भेषावकर विष्फोटक व्याटिङ गर्दै ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ३९ बलमा उनले ४ चौका र ४ छक्का हाने । प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन बनाए । तर पुछारका ब्याट्सम्यान चल्न नसक्दा भैरहवा पराजित भयो ।

यसअघि कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो ।

विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान पारस खड्काले २७, अनिल साहले २२ र प्रनित थापा मगरले १६ रन बनाए । बाबर हायत ११, आशिफ शेख ७ रनमा आउट भए  भने करण केशी ९ र वसन्त रेग्मी ३ रनमा नटआउट रहे । भैरहवाका लागि कृष्ण कार्की र हरिशंकर साहले समान २ तथा शरद भेषावकर र आरिफ शेखले समान १ विकेट लिए ।

प्रतियोगिताको विजेता टोली विराटनगर वारियर्सले ट्रफीसहित २१ लाख रुपैयाँ नगद प्राप्त गरेको छ । त्यस्तै रनर अप भैरहवा ग्लाडियटर्सले ट्रफी र आठ लाख रुपैयाँ प्राप्त गर्यो ।

त्यस्तै प्लेयर अफ् द टुर्नामेन्ट विराटनगरका ब्याट्सम्यान बाबर हायत भए । उनले टिभिएसको २०० सिसीको अपाचे मोटरसाइकल प्राप्त गरे । उनले प्रतियोगिताान सर्वाधिक ३१३ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्